November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रज्ञा कविता उत्सव-२०८० हर्षोल्लासका साथ सम्पन्न

२०८० फाल्गुन १५

3.2K

दिमागको मैलो पखाल्न कविता पढ्नुस् : कुलपति भुपाल राई

बराहक्षेत्र । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र -३, सुनसरीको आयोजनामा बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा गत शनिबार प्रज्ञा कविता उत्सव -२०८० हर्सोल्लासका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ६६ औं राष्ट्रिय कविता महोत्सव -२०८० का विजेता उत्कृष्ट १० कविलाई आमन्त्रण गर्दै उनीहरुको कविता वाचन सहित सो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय सर्जक र सिर्जना, अतिथि कवि र कविता लगायत विभिन्न चरणका कार्यक्रमहरु आयोजना गरिएको थियो । स्थानीय सर्जक र सिर्जना कार्यक्रममा कविहरु राजन इशारा , सविता फागो, वर्षा भण्डारी गजलकारहरु लक्ष्मण कटुवाल र ज्ञानु राईले आफ्नो सिर्जना प्रस्तुत गरे । जुन सेसनलाई गजलकार अच्युत भट्टराईले गरेका थिए ।

यस्तै, अतिथि कवि र कविता अन्तरगत भीम विरही राई (हतुवागढी), बिराट किराँती (झापा), रोशन परियार(धनकुटा), रेखा सुवेदी(मोरङ)ले कविताहरु वाचन गरे । सो सेसनलाई शरण लिम्बुले सहजिकर गरेका थिए । त्यसपछि खास आकर्षणको रुपमा हेरिएको राष्ट्रिय कविता महोत्सव विजेता उत्कृष्ट १० कविहरुले २/२ वटा कविता प्रस्तुत गरे । उमेश पुन (रुकुम), कृपाकरुणा पोख्रेल(इनरुवा), खिमानन्द जोशी(दार्चुला), जीवन आरोही (उदयपुर), तीर्थराज विश्वकर्मा (धरान)नवीन अभिलाषी(बाके), समीप वैगागी(रोल्पा),प्रकाश दिप्साली राई (बराहक्षेत्र, सुनसरी), राधिका कल्पित (काठमाडौ)ले २/२ वटा कविता प्रस्तुत गरेका थिए । सो सेसनका सहजकर्ता भने कवि दीपा मग्राती रहेकी थिइन् ।

Advertisement

विजेता उत्कृष्ट कविहरुलाई उत्कृष्ट कविहरुको फोटो अङ्कित टिसर्ट, कदरपत्र अन्य सामग्रीहरुसहितको नाङ्लो हस्तान्तरण गरिएको थियो।

सोही कार्यक्रममा स्वर्णिम मातृभाषा साहित्य पुरस्कारको अक्षयकोष स्थापनासमेत गरिएको थियो । जसको ट्रफीलाई कुलपति भुपालराइले सार्वजनिक गरेका थिए । विभिन्न जातीय झाँकीको साथमा विद्यार्थी, कवि कलाकार, पत्रकार , बुद्धिजीवी लगायत सयौंको सङ्ख्यामा प्रभातफेरि सहित नगरपरिक्रमा गरेर आरम्भ गरिएको सो कार्यक्रममा वडाअध्यक्षहरु रोहित काफ्ले, कपिल आचार्य, अग्रज कवि प्रल्हाद पहरेदार र बराहक्षेत्र नगरपालिकाका नगर उपप्रमुख नन्दकुमारी राईले शुभकामना मन्तव्य राखेका थिए ।

मन्तव्यको क्रममा विशिष्ट अतिथी बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवारले कला र साहित्यको निम्ति नगरपालिकाले आगामी दिनमा अझै साथ सहयोग गर्दै जाने बताइन् ।

यस्तै कार्यक्रममा प्रकाश पार्ने क्रममा स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राईले स्वर्णिम साहित्य समाज सिर्जना र समाजले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा रहेको बताए । उनले थपे, “बराहक्षेत्रको साहित्यिक इतिहासमा आजको दिन ऐतिहासिक दिनको रुपमा लिएका छौँ । नेपाल प्रज्ञा प्रतिष्ठानसङ्ग सहकार्य गर्न पाउनु आफैमा बराहक्षेत्रको साहित्याकासमा ठूलो उपलब्धी हो । हामीले गर्ने यस्ता सिर्जनशील कार्यमा सरोकारवाला र हाम्रा अभिभावक मानिएका स्थानीय निकायले अन्य क्षेत्र जस्तै साहित्य र सिर्जनालाई पनि आफ्नै सन्तान सम्झेर व्यवहार गर्नु पर्दछ अनि मात्र बराहक्षेत्र नगरपालिका एकेडेमीक रुपमा विकसित हुन्छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भूपाल राईले ‘प्रज्ञा कविता उत्सव-२०८०’ ऐतिहासिक र गौरवमय तरिकाले सम्पन्न भएको बताए । साथै नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं राष्ट्रिय कविता महोत्सव-२०८० लाई पुर्वको सुनसरीको बराहक्षेत्र नगरपालिकाको स्वर्णिम साहित्य समाजले यति भव्य रुपले अनुमोदन गरिदिएकोमा आफू अत्यन्तै खुसी रहेको बताए । उनले भने, “विगतका प्राज्ञ कुलपति कमलादीको सेवा सुविधासम्पन्न चेम्बरमा बसेर हस्ताक्षर गरेर मात्र बित्थ्यो । तर अहिले प्रज्ञा गाउँ, कुनाकाप्चाका सिर्जनामा दु:ख गर्नेहरुसङ्ग यसरी हिँड्दैछ । यसर्थ खास सिर्जना गर्नेहरुसम्म एकेडेमी पुग्ने क्रममा छ । भाषा र साहित्यको विकासबिना भौतिक विकास निर्माणहरु सब मिथ्या हुन्छन् । शरीरको मैलो साबुनले जान्छ भने दिमागको मैलो कविताले जान्छ यसर्थ कविता पढ्नुस जसले तपाइँलाई चङ्गा बनाउँछ । स्वर्णिम मातृभाषा साहित्य पुरस्कारको अक्षयकोष स्थापनाको घोषणाले मलाई तरङ्गित बनाएको छ । एकेडेमी यस्तै यस्तै काम गर्न चाहन्छ । निरन्तर काम गर्नुस स्वर्णिम साहित्य समाज म तपाइँहरुसङ्गै छु । एकेडेमी तपाइँहरुलाई सक्दो साथ दिन तयार छ ।”

समाजका सचिव लक्ष्मण कटुवालले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष शरणकुमार लिम्बुले राखेका थिए भने सभाध्य “प्रज्ञा कविता उत्सव-२०८०” का संयोजक कवि छबिना लुङ्गेली मगर रहेकी थिइन् ।