काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लन्डन जाने भएकी छन्। ‘इन्टरनेसनल मेयर अवार्ड’ ग्रहण गर्न मेयर दाहाल मार्च पहिलो साता बेलायत जान लागेकी हुन् ।
बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स्’ मा मार्च ७ मा आयोजना हुने अवार्ड समारोहमा मेयर दाहाल सहभागी हुनेछिन् । उनको सचिवालयका अनुसार मेयर दाहाल मार्च ४ तारिख बेलुका लन्डन पुग्ने र मार्च १२ मा नेपाल फर्किने छन्।
राजनीतिक र सार्वजनिक जीवनमा महत्वपूर्ण योगदान गर्नेहरुलाई प्रदान हुने यो अवार्डअन्तर्गतको मेयर अवार्ड भरतपुरमा दाहालले गरेको कामको कदरस्वरूप दिन लागिएको बताइएको छ।
एक साता लामो बेलायत भ्रमणका क्रममा मेयर दाहालले त्यहाँका केही स्थानीय निकायहरुको अवलोकन भ्रमणका साथै राजनीतिक व्यक्तित्वहरुसँग भेटघाट र नेपाली समुदायसँग अन्तरक्रिया पनि गर्दैछन्।
मेयर दाहालले त्यसअघि मार्च ६ मा लन्डन दूतावासमा ‘भिजिट भरतपुर २०२४’ अभियानमा केन्द्रित कार्यक्रममा भाग लिनेछन्।
मार्च ८ तारिख बेलायतस्थित माओवादी कार्यकर्ता एवम् नेपाली समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै भेट्ने उनको कार्यक्रम छ। त्यस्तै, मेयर दाहालले मार्च ९ मा लेष्टर सिटी काउन्सिल र मार्च १० मा लन्डनको रोयल ग्रीनवीच बरोको अवलोकन भ्रमण गर्नेछन्।
मार्च ११ मा नेपाली तथा बेलायती व्यवसायी एवम् लगानीकर्तासँग अन्तरक्रिया हुनेछ।