काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिएका छन्। गण्डकी प्रदेशले पोखरामा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले पत्ता लगाए थपेर दिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु । देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’
अध्यक्ष ओलीले आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्ने आरोप लगाइने गरिएको बताए। पहिले स्वीस बैंकमा र अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उनले बताए।
मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए। उक्त विषयमा ओलीले जवाफ दिँदै प्रमाणित गर्न चुनौती दिएका छन्। यस्ता आरोप लगाउनेलाई ओलीले ‘भुस्याहा कुकुर’को संज्ञा दिए।
पेट र मुख छ भनेर जे पनि खान्छ भन्ने नभएको भन्दै उनले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हाल्छ भने त्यो अपराध भएको बताए। उनले भने, ‘राज्यको ढुकुटीबाट १ पैसा पनि आफ्नो खल्तीमा हाल्छ भने त्यो अपराध हो, एमाले यसको विरोधमा छ, कुनै कम्प्रमाइज गर्दैन ।’
आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्ने बताए।




