भक्तपुर । महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि चाँगुनारायण नगरपालिकाले खोप तथा उपचार अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार कृषि क्षेत्रमा आधारित चाँगुनारायण नगरपालिकामा कृषि र पशुपालनमा आत्मनिर्भर यहाँका अधिकांश किसानको गाईपालन रहेको र यहाँका ८० प्रतिशत गाई लम्पी स्किनबाट प्रभावित भएपछि नगरपालिकाले खोप तथा उपचार अभियान सुरु गरेको हो ।
अधिकांश बासिन्दाको घरघरमा गाईभैँसी पालन रहेकोमा अधिकांशको घरमा लम्पी स्किन रोगले गाई बिरामी हुने र मर्न थालेपछि नगरपालिकाले अभियान सञ्चालन नगरपालिकाले जानकारी दिएको छ । एक महिना अगाडिदेखि नै यो रोगको महामारी फैलिएको र नगरपालिकाको तर्फबाट रोग नियन्त्रणका लागि सक्दो प्रयास भएको जनाएको छ । “यहाँका ८० प्रतिशत गाई यो रोगबाट प्रभावित भएका छन्, लम्पी स्किन फैलिनबाट रोक्न र उपचार गर्न हामीले वडावडामा, गोठगोठमै पुगेर पशु चिकित्सक एवं प्राविधिक टोलीले निःशुल्क खोप लगाउने र उपचार गर्ने कार्यको थालनी गरेका छौँ ।” नगर प्रमुख खत्रीले बताए ।
नगरपालिकाको पशुपक्षी विकास शाखाले लम्की स्किन रोग नियन्त्रणका लागि प्राविधिक टोली खटाएर एक हजार पाँच सय खोप लगाएको बताए । शाखाका चिकित्सकसहितको प्राविधिक टोलीले वडावडामा घुम्ती शिविरनै सञ्चालन गरेर गोठगोठमै पुगेर रोगको जाँच, निःशुल्क खोप, निःशुल्क औषधि वितरण गरी किसानलाई लम्की स्किन रोगबारे जनचेतनामूलक जानकारी गराएको छ ।