काठमाडौं । ललिता निवास भित्रका अस्थायी संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएको छ। महानगरले २४ घन्टे मौखिक अल्टिमेटम दिइएको स्रोतले जनाएको छ ।
आइतबार दिउँसो महानगर प्रहरीको टोली निवासको जग्गामा घेराबार गर्न पुगेको थियो । सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ। महानगर प्रहरीको टोलीले अहिले घेराबारको काम गरिरहेको छ।
ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पनि थप ३ जना पक्राउ परेका छन् । ब्युरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा-४ का तत्कालिन वडासचिव ( हाल महानगरका अधिकृत) र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए । उनले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए । त्यसकै आधारमा १४ रोपनी भन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो ।
ललिता निवास प्रकरणमा यसअघि पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की पक्राउ गरेको थियो । उनीहरु अहिले अनुसन्धानका लागि हिरासतमा छन् ।
डिल्लीबजारका मालपोत प्रमुख कलाधर देउजा र दुई अधिकृतहरू हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली अदालतको आदेशले पक्राउ लगत्तै छुटेका थिए ।