काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि निवास फर्किएका छन्। गत असार २ गते त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल बुधबार शितल निवास फर्किएका हुन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति निकालेर राष्ट्रपति पौडेल उपचार गराएर निवास फर्किएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन्।
असार ५ गते राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको थियो।
मुटुको धड्कन अस्थिर भएपछि उनी अस्पतालमा भर्ना भएका थिए। पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।