काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उनले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न भन्दै दिएको अन्तरिम आदेश नमान्ने अडान लिएका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ ।’
मेयर शाहले सरकार भारतको गुलाम भएको आरोप लगाएका छन् । ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ ।’, उनले लेखेका छन्।
यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर फिल्म चल्न नदिने उनले अडान लिएका छन् ।
उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।