काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरेको पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। लामो प्रयासपछि उक्त बाघलाई नियन्त्रणमा लिइएको हो ।
करिब २२ घण्टापछि प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिए पनि बाघको आक्रमणमा परेकी महिला भने अझै बेपत्ता छिन्। टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो।नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगिने प्रहरीले जानकारी दिएको छ।
शुक्रबार बाघको आक्रमणपछि बेलौरी –८ पचुँइका गङ्गादेवी चन्द बेपत्ता छिन्। चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए।
घटनाबारे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी र वनको टोली पचुँइ पुगेको थियो। बाघ नियन्त्रणका लागि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली शुक्रबार बेलुकीदेखि नै खटिएको थियो।सोही टोलीले चार वटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो।
बेपत्ता उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




