April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नागरिकतामा ‘मावली थर’राख्ने निर्णय गृह मन्त्रालयले सच्यायो

1.3K

काठमाडौं । गृह मन्त्रालयले बाबुको पहिचान हुन नसकेको बच्चाका लागि मामाको थर राख्नसक्ने भनि यसअघि निर्णय गरेको परिपत्र सच्चाएको छ। विवादित भएपछि मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार सच्चाएर परिपत्र जारी गरेको हो। विभागले ‘मावली थर’ राख्ने भनि व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ राख्न सकिने भनेको छ।

विवाहअघि नै बच्चा जन्माएकी एकल महिला वा पतिको ठेगाना नखुलेको बच्चाको हकमा यस्तो व्यवस्था गरिएको हो। यसअघिको परिपत्रमा मावली थर प्रयोग गर्न भनिएको थियो। सच्चाइएको परिपत्रमा बच्चा जन्मिँदा कायम आमाको थर प्रयोग गर्ने भनिएको छ। यो भनेको आमकै थर राख्न पाउने विभागका निर्देशक नवराज जैसीले बताए।

यसअघि, प्रतिनिधिसभाकी सांसद सुशीला थिङले एकल महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ताको सन्दर्भमा गृहमन्त्रालयले गरेको निर्णयमा मावलीको थर भन्ने शब्द सच्याउन माग गरेकी थिइन , उनले प्रतिनिधिसभा बैठकमा एकल महिलाले विवाह गरी बच्चासहित पतिकै ठेगानमा बसेको भए मावलीको थर दिइने भन्ने निर्णयमा मावलीको थर भन्ने शब्द राखेकोमा आफ्नो असहमति रहेको बताइन् ।

Advertisement

यसअघिको परिपत्रमा ‘पितृत्वको ठेगान नभएको’ बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिने भनिएको थियो भने विवाहअघि जन्म भएको तर ‘पितृत्वको ठेगान नभएको बच्चा’ भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने भनिएको थियो।