काठमाडौं । मिटरब्याज पीडितले शुक्रबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् । आन्दोलन चर्किदै गएपछि पीडितसँग वार्ता गर्न सरकारले अर्को समिति बनाएको छ।
गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो। पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी, नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य र गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ सदस्य सचिव रहेका छन्।
सरकारले यसअघि पनि पीडितसँग वार्ताका लागि समिति बनाएको थियो। गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो। उक्त समितिमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगाल थिए।
जुन समितिसँग मिटरब्याज पीडितको एउटा टोलीले पाँचबुँदे सहमति गरेको थियो। उक्त सहमतिलगत्तै मिटरब्याज पीडितहरूको अर्को टोली आएर काठमाडौंमा आन्दोलन गरिरहेको छ। शुक्रबारको आन्दोलनमा सिंहदरबारको बाहिरपट्टी पीडितलाई प्रहरीले छेकेपछि केही समय तानातान भएको थियो । विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।