काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले एक लाख एक हजार एकसय एघार रुपैयाँ राशीको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
शाखाको बिहीवार बसेको कार्यसमितिको बैठकले आगामी शनिवार हुने शाखाको २३ औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उनी पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष समेत हुन ।
महासंघ काठमाडौ शाखाका सचिव महेश्वर गौतमले काठमाडौ शाखाको संखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको र बिहीवारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।
सो पुरस्कार आगामी शनिबार हुने शाखाको २३ औं साधारणसभामा सुचना तथा संचार प्रविधी मन्त्री रेखा शर्माको हातबाट प्रदान गरिने छ ।