April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पत्रकारिता पेशामा अवसर र चुनौती दुवै, विश्वसनीयता कायम राख्नुपर्नेमा सरोकारवालाहरूको जोड

2.3K

काठमाडौं । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यमका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता  अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो  । कार्यक्रममा सहभागी सञ्चार विज्ञ तथा पत्रकारिता अध्ययनरत विद्यार्थीले सञ्चारमाध्यमका विषयवस्तुमाथि विश्वसनियता कायम राख्न र समयअनुकूल  प्रविधिको प्रयोग गर्न जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताए । उनले सञ्चारमाध्यमका विषयवस्तुको विश्वसनियता प्रश्न उठ्ने गरेको भन्दै प्रश्नहरूलाई स्वीकार गरी विश्वसनियता कायम राख्नुपर्नेमा जोड दिए ।

हिजोको पत्रकारिता अभ्यासका आधारमा गरिदै आएको भन्दै आज पत्रकारिताका लागि अध्ययन र प्रविधियुक्त रहेकाले पत्रकारिता पेशामा अवसर र चुनौति दुबै रहेको अध्यक्ष पोखरेलले बताए । 

Advertisement

नेपाल पत्रकार महासङ्घका पूर्व सभापति सुरेश आचार्यले पत्रकारिताले क्षेत्र पेशागत सिद्धान्तबाट विमुख हुदाँ अन्य माध्यमहरू हाबी हुन थालेको बताए । प्रेस स्वतन्त्रताको उपभोगसँग जोडिएको विषयमा निरन्तर बहस र छलफल हुनुपर्नेमा जोड दिदै डा.आचार्यले सञ्चारमाध्यमका विषयवस्तु सामाजिक न्यायका लागि केन्द्रित हुनुपर्नेमा जोड दिए। 

महासङ्घका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले आजको पत्रकारितामा विभिन्न चुनौति थपिएको बताए । ‘आजको पत्रकारितामा अवसर र चुनौति दुबै छन्,यसलाई प्रविधि, शैली र समाज रूपान्तरणका हिसाबले व्याख्या विश्लेषण गर्नुपर्छ ।’, डा. विष्टले भने । उनले पत्रकारितामा कमी -कमजोरीहरु रहेको भन्दै आजको पत्रकारितालाई सच्याउन सकिएन अबको पत्रकारिता नसच्चिने समेत बताए । 

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले मूलधारको पत्रकारितामा कमी कमजोरी रहेको बताए । उनले मूलधारका सञ्चारमाध्यमले सामाजिक न्यायका विषयवस्तुलाई कम स्थान दिने गरेको बताए । उनले नेपाली सञ्चारमाध्यम प्रश्नहरुबाट गुज्रिरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ ? यस विषयमा छलफल र समीक्षा हुनुपर्ने बताए। उनले सञ्चारमाध्यमले पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ कि छैन ? भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले सञ्चार क्षेत्रका विकृति विसंगति अन्त्यका लागि सञ्चार साक्षरता अभियान चलाउनुपर्ने बताइन् । उनले पत्रकारहरूले श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक नदिने सञ्चारमाध्मलाई कारबाही गर्नुपर्नेमा जोड दिएकी थिइन्। 

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले विगतको पत्रकारिताको तुलनामा आजको पत्रकारिता माध्यमका रुपमा मात्रै फरक रहेको बताए । 

पत्रकारले सिक्ने सिकाउने कार्य निरन्तर जारी राख्दै परिवर्तित समयमा सूचना तथा सन्देशलाई सहज र सलर ढंगले लक्षित समुदायमा पुर्याउन ध्यान दिनुपर्ने बताए । उनले महासंघ लगायत सरोकार संस्थाले पत्रकारिताको क्षमता अभिवृद्धि र गलत सूचना संप्रेषण रोक्न पहलकदम लिन सुझाव दिए । 

नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागका संयोजक शन्तराम बिडारीले सञ्चारक्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका लागि कार्यक्रम आयोजना गरिएको बताए। उनले पछिल्ला दिनमा पत्रकार तथा सञ्चारक्षेत्रप्रति प्रश्न उठ्न थालेको भन्दै पत्रकार तथा सञ्चारमाध्यमले आत्मालोचना गर्दै सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनियतामा ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा पत्रकारिता अध्ययनरत विद्यार्थी तथा पत्रकार साथै सरोकारवालाहरुले आफ्नो अनुभव, प्रश्न र जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, ज्ञानप्रसाद पौडेल, नविन रिजाल, प्रकाश धौलाकोटी लगायतको उपस्थिति रहेको थियो ।  

कार्यक्रमको संचालन महासङ्घका केन्द्रीय सदस्य सुभाष  साहले गरेका थिए ।