April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पत्रकार विक्रीमा छन भनेको होइन, शब्द चयन नमिलेको हो : सभामुख

1.5K

काठमाडौं । सभामुख देवराज घिमिरेले आज साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा सञ्चारमैत्री कानून निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धि विधेयकहरुको अवस्थालगायतका विषयमा छलफल भएको छ । भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको बताएको थियो ।

सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताए । उनले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए ।

Advertisement

सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानून निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने बताए । भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल थिए ।

यसअघिको भेटमा सभामुख घिमिरेले घिमिरेले पत्रकारहरू विक्रीमा रहेको टिप्पणी गरेका थिए । शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताएका हुन्। उनले देशमा पीत पत्रकारिता निकै डरलाग्दो गरी देखा परेको बताएका थिए ।

सभामुख घिमिरेले भनेका थिए, ‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्थ्यो, त्यो छैन। पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ। अझ भन्ने हो भने पत्रकारहरू विक्रीमा छन्। सभामुखले संघ विक्रीमा छ भन्यो भन्लान् भनेर मैले यसलाई रोकिरहनु पर्दैन। तपाईंहरूले त्यो भन्नु पनि हुँदैन।’ सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरेका थिए ।