काठमाडौं । नेपाल विद्यार्थी संघ नेपाल विद्यार्थी संघ एडभान्स कलेज अफ इन्जिनियरिङ् एण्ड मेनेजमेन्ट इकाइको दबाबमा क्याम्पस प्रशासन स्ववियू निर्वाचन गराउन बाध्य भएको छ ।
एडभान्स कलेज इकाईले स्ववियु निर्वाचन कमिटी गठन गराउन दिएको दबाबपछि क्याम्पस प्रशासन लचक भएको हो । स्ववियु निर्वाचन गराउन क्याम्पस प्रशासनले रोक्न खोजेपछि नेविसंघ आन्दोलनमा उत्रिएको क्याम्पस इकाइका उपाध्यक्ष मनोज खड्काले जानकारी दिए ।
चैत ०५ मा हुने स्ववियु निर्वाचन गर्न क्याम्प्स अध्यक्ष रमेश सिलवालले असमर्थ जनाएपछि नेविसंघ आवद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुको साथै सिलवालको पुत्लासमेत जलाएका थिए । नेविसंघले बारम्बार आग्रह गर्दा पनि क्याम्पस प्रशासनले वेवास्था गरेपछि नेविसंघ प्रदर्शनमा उत्रिएको थियो । विद्यार्थीको हकहितका बारे लड्ने स्ववियूमाथि धावा बोल्ने सिलवाललाई विद्यार्थीले खबरदारी समेत गरिरहेको उपाध्यक्ष खड्काले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्ववियु निर्वाचनका लागि शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ । १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले शनिबार बिहान ११ देखि २ बजेसम्म उम्मेद्वारी दर्ताको समय छुट्याएको छ । उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ ।