काठमाडौं । रेष्टुराँको छ तलामाथिबाट खसेर घाइते भएका नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका अवस्थामा उनको उपचारकै क्रममा निधन भएको हो ।
शनिबार दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । उनलाई तत्कालै नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।
पार्टीका नेता विजय पौडेलका अनुसार दुई जना अपरिचित युवाले देखेर उनलाई निजामती अस्पताल पुर्याएकोमा उनलाई पछि अन्नपूर्ण न्युरो लगिएको थियो । नेता उपाध्याय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् । पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।
काठमाडौंको शंखमुलस्थित बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाको झ्यालबाट उनी खसेको रेष्टुरेन्ट सञ्चालक रञ्जित कुमार यादवले बताएका छन् । उपाध्याय केही दिनदेखि नियमित रूपमा बिहान साढे १० बजेतिर आउने र कफी अर्डर गर्ने गरेका थिए ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीले कफी शपको छैटौँ तलाबाट खसेको भन्दै त्यसबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको बताए ।
कफी शपका सञ्चालक यादव अनुसार तीन दिनदेखि उपाध्याय त्यहाँ जाने गरेका थिए । उनी जहिले पनि छतमै बस्ने गरेको भन्दै शनिबार एक्कासि हाम फालेको बताए । उनी आफैं खसेको भन्दा पनि हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।