April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

आरजु र खाँणहरुले ठूला आयोजनामा अर्बौको चलखेल गरेका छन : महेश बस्नेत

1.3K

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कांग्रेस सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि ठूला आयोजनामा अर्बौको चलखेल गरेको गम्भीर आरोप लगाएका छन् ।

आरजु र खाँणहरुले निर्वाचनपछि पनि आफूहरुकै सरकार बन्ने भन्दै ठूला आयोजनाको ठेक्का दिने भनेर अग्रिम रुपमा ६÷७ अर्ब रुपैयाँ बुझेको र अहिले सरकारबाट बाहिरिएकोले फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको बस्नेतको आरोप छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले देउवा नेतृत्वको यसअघिको सरकारलाई ‘भाउजुको सरकार’ भन्ने मानक रहेको पनि स्मरण गराए ।

उनले भने,‘देउवा सरकारले विकास निर्माणको पनि केही काम गरेको थिएन । ठूला–ठूला आयोजनाको सन्दर्भमा चाहे त्यो एनसेलको सन्दर्भ होस, चाहे त्यो सूर्यविनायक–धुलिखेल सडकको सन्दर्भ होस, यी तमाम सनदर्भमा अरवौं पैसाको सेटिङ थियो । भाउजुको सरकार अथवा आरजु देउवाज्यू, अथवा बालकृष्ण खाणजीलगायतका साथीहरुको सेटिङमा अब सरकार बन्नेछ र मिलोमतोमा तपाईँहरुलाई ठेक्कालगायत दिन्छौं भनेर ६÷७ अर्ब उहाँहरुले लिनुभएको छ र अहिले त्यो पैसा चाहीँ फिर्ता गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ भन्ने कुरा अहिले चर्चामा आएको छ ।’

Advertisement

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता बस्नेतले यसअघिको देउवा सरकारले मुलुकमा संस्थागत ठगी गरेको गम्भीर आरोप लगाए । उनले भने,‘विशेषगरेर भन्सार भएका जिल्लाहरुमा सिडिओ, एसपीहरु सबै सुरुवाहरु सेटिङमा हुने गर्दथ्यो । भन्सार प्रमुखहरु सेटिङमा हुने गर्दथे । र, वैद्य च्यानलबाट सामानहरु आयात नगरी अवैध च्यानलबाट सामान आयात गर्ने, भन्सार छली गर्ने र राजश्व छली गर्ने काम भएको थियो । एक ढंगले भन्ने हो भने राज्य संस्थागत ठगी धन्दामा संलग्न भएको थियो । जसको कारण हाम्रो अर्थतन्त्र टाँट पल्टिएको थियो । पुँजीगत खर्च न्यून भैरहेको छ । आजको अर्थमन्त्रीलाई समेत चूनौति थपिदिएर उहाँहरु जानुभयो ।’ उनले यसअघिको सरकारप्रति व्यंग्य गर्दै ‘मेकिङ आरजु देउवा, नट मेकिडङ नेपाल’ भएको टिप्पणी गरे ।

बस्नेतले आफूले त्यतिकै यो विषय नउठाएको भन्दै छानबिन गर्न अहिलेको सरकारसमक्ष माग गरेका छन् । उनले भने,‘विगतमा हाम्रोबारेमा पनि प्रश्न उठ्यो । ती सबै विषयमा छानबिन गरियोस । प्रधानन्यायाधीशमाथि महाभियोग लगाईयो, उहाँ कार्यकाल सकेर जानुभयो । संसद् मर्यो, तर उहाँको महाभियोग जिवित छ । ओम्नी प्रकरणको पनि छानबिन गरोस । वाईडबडी, एनसेल, सुन तस्करीको पनि व्यापक छानबिन गरोस । अहिले मैले उठाएको कुरा पनि छानबिन होस । अब सरकारले ढाकछोप गर्दैन् । राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरणबाट मुक्त गर्ने हो भने गम्भीर रुपमा छानबिन गर्नुपर्छ । अख्तियार, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण यी निकायलाई शक्तिशाली बनाउनुपर्छ । यो हाम्रो सुझाव हो ।’

उनले आफूहरु वामपन्थीहरुबीच एकताको लागि सक्रिय भएको पनि विश्वास दिलाए । उनले भने,‘हामीले भर्खरै आम निर्वाचन सम्पन्न गरेका छौं । नयाँ जनादेश लिएर हामी अघि बढेका छौं । निर्वाचनअघि हाम्रो आँकलन एक्लै बहुमत ल्याउने थियो । तर, त्यस्तो भएन । समानुपातिक मतमा प्रथम भयौं । ७ मध्ये ६ प्रदेशमा हामी प्रथम दल भयौं । ५० प्रतिशत पपुलर मत ल्याउँछौं भन्ने थियो । यो निर्वाचनले एउटा गम्भीर समिक्षा गरेर अघि बढ्न भनेको छ ।’