काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । विगत केही दिनदेखि निरन्तर कमजोर गरी खानामा अरुची भइ अस्वस्थ्य महसुस गरेपछि शुक्रबार किष्ट अस्पतालमा भर्ना भएका हुन् ।
अस्पतालका चिकित्सक तथा नर्सिङ टिम उनको निवासमा पुग्दा अघिल्लो दिनभन्दा कमजोर देखिएपछि अस्पताल ल्याएर भर्ना गरिएको अस्पतालले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
परीक्षण गर्दा उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै हाल फैलिएको डेंगी संक्रमण पनि देखिएको अस्पतालले जनाएको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीसँग भेटी उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्काल आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।




