काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् ।
नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा गरी सुरक्षा व्यवस्थापनअन्तर्गतका काममा १४ सय सवारीसाधन आवश्यक रहेको बताएको हो । तर, सरकारले निर्वाचनका लागि नेपाल प्रहरीलाई नयाँ सवारीसाधन खरिद गर्न ७५ करोड बजेटको स्रोत सुनिश्चितता दिएको छ ।
प्रहरीले ५० लाख रुपैयाँ दरका ८० र ३५ लाख रुपैयाँका दरका सय वटा गाडी खरिदका लागी टेन्डर आह्वान गरेको हो । अर्थ मन्त्रालयले प्रहरीका लागि गाडी खरिद गर्न ७५ करोड स्रोत सुनिश्चित गरेपछि टेन्डर प्रक्रिया अघि बढाएको हो ।
अर्थ मन्त्रालयले प्रहरीलाई प्रतिगाडी ५० लाख नबढ्ने गरी खरिद गर्न भनेकोमा प्रहरीले केही ५० लाख र केही ३५ लाखसम्मका सवारी खरिद गर्ने भएको छ ।
प्रहरीले गत स्थानीय तह निर्वाचनमा पनि सवारीसाधन खरिदका लागि सरकारलाई घच्घच्याएको थियो । तर, अर्थ मन्त्रालयले बजेट सुनिश्चित नगर्दा प्रहरीले नयाँ सवारीसाधन खरिद गर्न पाएको थिएन ।
स्थानीय तह निर्वाचनमा प्रहरीले भाडामै लिएर सुरक्षा व्यवस्थापनका लागि सवारीसाधनको व्यवस्थापन गरेको थियो । प्रहरी प्रधान कार्यालयले आगामी निर्वाचन लक्षित गर्दै खरिद गर्न लागेका सवारीसाधन अधिकांश पिकअप भ्यान छन् । जुन प्रहरीले सुरक्षा गस्तीका लागि प्रयोग गर्ने गरेको छ ।
सशस्त्र प्रहरी बलले पनि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि ५० वटा गाडी खरिद गर्न टेन्डर आह्वान गरेको छ । अर्थ मन्त्रालयले सशस्त्र प्रहरीलाई गाडी खरिद गर्न २५ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको हो ।
गृह मन्त्रालयले पनि निर्वाचनअघि २५ गाडी किन्ने भएको छ । गृहले ५० लाख प्रतिगोटाका दरले २५ वटा गाडी खरिद गर्ने गरी प्रक्रिया अघि बढाएको छ । ती गाडी गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयका लागि प्रयोग हुने स्रोतले जानकारी दिएको छ ।
नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ ।