काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए । वागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै अघि बढ्नुपर्ने प्रतिवद्धता जनाए ।
तत्कालीन नेकपाको सरकारले संघीय कानून समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको बताए । ‘अहिले वागमतीको किनारमा बस्तीहरुको जुन कुरा छ, त्यहाँ अलि आक्रोश पनि छ । लोकतान्त्रिक पद्धतिमा काम गर्दा कानून बमोजिम विधि र प्रक्रिया पूरा गर्नुपर्छ । अव्यवस्थितपूर्ण बस्तीहरुको समाधान गर्नको लागि हामी अघि बढ्छौँ,’ उनले भने ।
तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुईपटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको दाबी गरे । गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने बताए ।
कार्यक्रममा सरोकारवाला निकायहरु र आम सर्वसाधारणहरूले खानेपानी, विद्युत, सडक, टेलिफोन तार लगायत समस्याको उचित व्यवस्थापन गर्न माग गरेका थिए ।