November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

निजामती सेवा पुरस्कार : सिंहदरबार र संघीय तहकै कर्मचारीको पक्कडमा

2K

काठमाडौं । निजामती सेवा दिवसका अवसरमा बर्षेनी सरकारले प्रदान गर्ने निजामती पुरस्कार अझै पारदर्शी बन्न नसकेको गुनासो आएको छ । विगत झैं यसबर्ष पनि पुरस्कार सिंहदरबार वा संघीय तहकै कर्मचारीको पक्कडमा पुगेको छ ।

यस वर्षको निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरिएकोमध्ये १४ जना मात्र काठमाडौं उपत्याकाभन्दा बाहिरका छन् । दुर्गममा बसेर जनताको सेवा गर्ने इमान्दार कर्मचारीहरु पुरस्कारको सूचीमा अटाउन सकेका छैनन् । पुरस्कार छनोट पारदर्शी र निष्पक्ष नभएको आवाज निजामती कर्मचारीहरुमा उठेको छ । यस वर्ष पनि ४० वटा पुरस्कार दिइदा २८ जना सिंहदरबारभित्रकै कर्मचारी समेटिनुले दुर्गमका कर्मचारीले प्रश्न उठाएका छन् ।

दुर्गममा बसेर जनताको सेवा गर्ने र उत्कृष्ट कार्य सम्पादन भएका कर्मचारी पुरस्कार सूचीमा पर्न नसकेपछि पुरस्कारप्रति वितृष्णा बढेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय गरेको थियो । हाल नेपालमा करिब ८३ हजार निजामती कर्मचारी छन् । तर सरकारले यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने भेट्टाएको छैन । पुरस्कार पाउने कर्मचारीहरुको सूची तयार गर्दा बोलवाला र पहुँचवालाहरुको मात्र नाम समावेस भएको भनेर विरोध समेत भइरहेको छ ।

Advertisement

नेपालमा हरेक वर्ष भदौ २२ मा निजामती दिवस मनाइन्छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ बुधबार यसवर्षको निजामती दिवस मनाइँदैछ । साथै पुरस्कार पाउनेहरुको सूची पनि सार्वजनिक भइसकेको छ । पुरस्कृत हुने कर्मचारीहरुको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति बनाउने र सो समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु छनोट गर्छ । यसबर्ष पनि उत्कृष्ट कर्मचारी छनोट गरिएको छैन ।