काठमाडौं । एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाललाई ट्रेड युनियनको रुपमा दर्ता गर्न हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । अभियानमा मधेस प्रदेशले अग्रसरता लिएको छ ।
सङ्गठनलाई ट्रेड युनियनको रूपमा दर्ता गर्न ५ हजार जना स्थायी स्वास्थ्यकर्मीको हस्ताक्षर अनिवार्य चाहिने भएपछि अभियान सुरु गरिएको हो । एक विशेष समारोहबीच मधेस प्रदेशबाट संकलन भएको हस्ताक्षर शुक्रबार एकीकृत स्वास्थ्यकर्मी सङ्गठनका मधेस प्रदेश अध्यक्ष सुरेन्द्र ठाकुरले केन्द्रीय अध्यक्ष श्री भक्तिमान सुब्बा र महासचिव श्री तोपबहादुर थापालाई हस्तान्तरण गरेका छन् । मधेस प्रदेशबाट एक हजार ५ सय जना स्वास्थ्यकर्मीको हस्ताक्षर संकलन भैसकेको बताइएको छ । थप हस्ताक्षर संकलन फारम आउने क्रम जारी रहेको जनाइएको छ । प्राप्त हस्ताक्षर मध्ये रौतहट जिल्लाबाट सबै भन्दा बढी ६ सय १८ जना स्वास्थ्यकर्मीले एकीकृत स्वास्थ्यकर्मी सङ्गठनमा आबद्ध भै सदस्यता प्राप्त गरि हस्ताक्षर गरेको छ ।
रौतहट जिल्ला भरिका विभिन्न स्वास्थ्य संस्थाहरुमा जम्मा ७ सय ३५ जना स्थायी स्वास्थ्यकर्मीहरू कार्यरत छन् । रौतहटमा स्वास्थ्यकर्मी सङ्गठनमा आवद्ध भै हस्ताक्षर सङ्कलनमा सक्रिय रूपमा लाग्नुको श्रेय सङ्गठनका जिल्ला अध्यक्ष श्री गौरी शंकरप्रसाद लगायत सम्पूर्ण जिल्ला कार्य समिति रौतहटको विशेष योगदान रहेको जानकारी प्रदेश अध्यक्ष सुरेन्द्र ठाकुरले गराए ।