काठमाडौं । मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिएका छन् ।
बिहीबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित भएका थिए ।
त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा संचालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका निर्देशक शर्माले ‘सरकारसँग अनुमति लिएर आफूले सो संरचना बनाइएको’ जिकीर गरे । त्यसपछि मेयर शाहले नक्सा देखाउन शर्मासँग आग्रह गरे । हजुरसँग हुनुपर्ने निर्देशक शर्माको जवाफ थियो । त्यसपछि मेयर शाहले ‘तपाईको घरको नक्सा अरुसँग हुन्छ ? भन्दै आक्रोशित भए ।
अनधिकृत रुपमा बनाइएका संरचनाहरु खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यो सूचनाको अवज्ञा भएपछि मेयर शाहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत रुपमा बनाइएको भौतिक संरचनाहरु हटाउने काम सुरु गरेका हुन् ।
मेयर शाहले अनुमतिविना संचालनमा आएका संरचनाहरु हटाउनका लागि काठमाडौं महानगरका कर्मचारी, सुरक्षाकर्मी र ट्राफिक प्रहरी समेत परिचालन गरेका छन् ।
यसै सिलसिलामा नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाइएको छ । नियमविपरीत बनाइएका संरचना हटाउन अग्रीम सूचना जारी गर्दा पनि कम्प्लेक्स धनीले नहटाएपछि बिहीबार दिउँसो मेयर शाहको उपस्थितिमा डोजरले भत्काइदिएको हो । डोजर चलाउनु अघि मेयर शाह र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच भवनको नक्साको विषयलाई लिएरसँग चर्काचर्की परेको थियो ।