काठमाडौं । लामो समय रोकिएको विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध सरकारले हटाएको छ ।
१३ वैशाख २०७८ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रूपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएको थियो । तर, विमानस्थलभित्रै ट्रान्जिट गरी जानेका लागि भने प्रतिबन्ध थिएन ।
अहिले कारोना संक्रमितको दर घटेर पर्यटकीय चहलपहल सामान्य भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वैशाख २०७८ सालको निर्णय खारेज गरेको थियो । मन्त्रिपरिषद्को सोही निर्णयसँगै अब भने कुनै पनि विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्य मुलुकमा जान पाउनेछन् ।
कोभिड–१९ महामारीका बेला भारतीय नागरिक नेपाल आएर साउदी अरेबिया जाने क्रम बढेपछि गत वर्ष सरकारले यस्तो निर्णय गर्नुपरेको थियो । यसअघि पर्यटन व्यवसायीले भने त्यो निर्णय खारेज गर्न माग गरिरहेका थिए ।