धरान । नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानले २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको तयारी पुरा भएको जानकारी दिएको छ ।
यहि साउन २४ गते मंगलबारको दिन विश्वभर मनाईरहेको आदिवासी दिवस धरानमा पनि भव्य रुपमा मनाउने जानकारी दिँदै सम्पूर्ण तयारी पुरा भएको कुरा महासंघ धरानका अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङले जानकारी दिए । “परम्परागत ज्ञानको संरक्षण र प्रसारणमा आदिवासी महिलाहरूको भूमिका” अन्तर्राष्ट्रिय नारा रहेको विश्व आदिवासी दिवस धरानका मेयर हर्कराज राई साङ्पाङको प्रमुख आतिथ्यमा हुने बताए । त्यसैगरी उपमेयर आईन्द्र बिक्रम बेघा विषेश अतिथिमा रहने बताए । औपचारिक कार्यक्रमको लागि प्रमुख वक्ताको रुपमा भाषाविद डा. तारामणि राई रहनेछ ।
कार्यक्रमको झाँकी/र्याली बिहान ११ बजे पब्लिक स्कुलबाट निकाल्ने र चुम्लुङ हिम धरान–१५ मा आमसभामा परिणत हुने बताए । बृहत आमसभामा विभिन्न समुदायका सांस्कृतिक कार्यक्रम पनि रहने जानकारी दिए । धरानमा सूचीकृत ५९ जातीमध्ये १३ वटा जातीय संस्था र महिला महासंघ रहेका छन् ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो । प्रत्येक अङ्ग्रेजी वर्ष अगस्त महिनाको ९ तारिखमा अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस संसारभर मनाइन्छ ।