काठमाडौं । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै आयल निगममा विरोध प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपालमा पनि घटाउनुपर्ने भन्दै अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले निगममा प्रदर्शन गरेको हो ।
उनीहरूले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न मागसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
प्रदर्शनमा सहभागीहरूले मूल्य वृद्धि फिर्ता गर, स्वचालित मूल्य प्रणाली कायम गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीका अध्यक्ष पंकज भण्डारीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तु लगाएको मूल्यवृद्धि भएको हुँदा अहिले पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा पनि घटाउनुपर्ने बताए ।
उनले आफ्नो कमजोरी लुकाउन निगमले सदैव घाटा मात्र देखाउने गरेको आरोप लगाए ।
विद्यार्थीहरूको ध्यानाकर्षण पत्र बुझ्दै निगमका अधिकारीहरूले स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको जनाएका थिए । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन नभए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ ।