काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताए । वीर अस्पतालको १३३ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खापुङले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताएका हुन् ।
उनले भने ‘सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने उसको मन कस्तो होला ?’ वीर अस्पतालमा उपचार गर्न आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, शय्या नभए पनि वैकल्पिक व्यवस्था गरेर उपचार गर्नुपर्दछ।’, उनले भने ।
यस्तै, सरकारी अस्पतालप्रति जनताको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने पनि उनले बताए । अस्पतालले कोभिड-१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिनुपर्ने बताए।
वीर अस्पतालको सरसफाइमा पनि ध्यान दिन मन्त्री खापुङले आग्रह गरे।