काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा हैजाका बिरामीको संख्या १७ पुगेको छ । शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै बिरामीको संख्या १७ पुगेको हो ।
हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ ।
बिरामीमा हैजाको स्रोत पानी देखिएको बताइएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो । उपत्यकामा वितरण गरिने खानेपानी पिउन योग्य नरहेको भेटिएको बताइएको छ । डाक्टरका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ ।
केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि इडिसिडीले शुक्रबारदेखि अनुगमनलाई तीव्रता दिने जनाएको छ ।
महाशाखाले सबैतिरको पानीमा दिसाको जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।