काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततामाथि विस्तृत अनुसन्धान गर्ने भएको छ ।
त्यसैको तयारीस्वरुप विहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयबाट गएको टोलीले आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै स्थलगत छानबिन पनि गरेको हो । अख्तियार स्रोतले भन्यो, ‘त्यो टोलीले प्रारम्भिक प्रतिवेदन बुझाउनासाथ निर्णय गरेर विस्तृत अनुसन्धान गर्ने योजना छ ।’
अख्तियारको टोलीले प्रतिष्ठानबाट बिहीबार स्वास्थ्य उपकरण खरिदसँग सम्बन्धित कागजात, उपकरण खरिदका विवरण, उपकरणहरुको अवस्था लगायतका विषयमा प्रमाण संकलन गरेको छ । निर्माणाधीन भवन अलपत्र परेको, बनेका भवनहरु पनि गुणस्तरहीन भएको भन्ने उजुरीका आधारमा अख्तियारले भवनसम्बन्धी विवरण पनि संकलन गरेको थियो । अनि महंगा उपकरण खरिद गरेर अलपत्र पारेकोबारे पनि अनुसन्धान गरेको थियो ।
‘भ्रष्टाचार भएको हो भनेर सहमत हुने कयौं सूचना र उजुरी त पर्याप्त आइसकेका छन्’ अख्तियार स्रोतले भन्यो, ‘त्यसको पुष्टि हुने कागजात र प्रमाण संकलन गरिरहेका छौं, अब अनुसन्धानलाई गति दिन्छौं ।’
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले टोली स्थलगत रुपमा अध्ययनका लागि गएको र सबै प्रमाण संकलन गर्ने बताए । अनुसन्धान भर्खरै शुरु भएकाले थप जानकारी दिन नसक्ने उनले बताए ।