काठमाडौं- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रका वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन्। गत फागुनमा मात्रै राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानव-वन्यजन्तु द्वन्द्वका घटनामा तीन जनाले ज्यान गुमाउनाका साथै चार जना घाइते भएका छन्।
चितवनको तामासुर पोस्टको जिम्मेवारी क्षेत्रमा फागुन २० गते खेतमा घाँस काटिरहेकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जानकारी दिएको छ। त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको गेरुवा गाउँपालिका-६ नौलोबाँस इलाका सामुदायिक वनमा भैँसी चराउन गएका लालबहादुर चौधरीको पनि बाघको आक्रमणमा परी निधन भएको छ। बर्दियाकै मधुवन नगरपालिका-३ भगडैयास्थित राष्ट्रिय वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी २६ वर्षीया रीना सुनारको निधन भएको त्यहाँ तैनाथ देवीदत्त गणले जानकारी दिएको छ।
चितवन, बर्दिया र कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रका चार बासिन्दा फागुनमा वन्यजन्तुको आक्रमणमा परी घाइते भएका छन्। पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि चरन र आहारको खोजीमा जङ्गली जनावर मध्यवर्ती र बस्ती क्षेत्रमा प्रवेश गर्ने क्रम बढेसँगै मानवीय क्षतिका घटनामा वृद्धि भएको अनुमान गरिएको छ।
भरतपुर महानगरपालिका-७ का मङ्गलबहादुर कुँवर र रत्ननगर नगरपालिका-७ की फिरला महत गैँडाको आक्रमण तथा बर्दिया गेरुवा नगरपालिका-१ का सरोज कार्की बाघको आक्रमणमा परी घाइते भएको सेनाले जनाएको छ। सुनसरी बराहक्षेत्र नगरपालिका-११ की कविताकुमारी उराँवलाई पनि खेतमा घाँस काट्न जाने क्रममा अर्नाले हानेर घाइते तुल्याएको थियो।
चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एक/एक बाघ र हात्ती मरेका छन्। निकुञ्ज क्षेत्रमा १५ चित्तल, दुई घोरल तथा एक/एक बँदेल र रतुवाको कालगति तथा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको सेनाले जानकारी दिएको छ।
सो अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लाङटाङमा एक/एक निर बिरालो, घोरल र सेतो बाँदर तथा शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक लङ्गुर र दुई बँदेल मृतावस्थामा फेला परेका थिए। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाँच चित्तल, दुई/दुई बँदेल, चौका, बाँदर र बिरालो तथा एक/एक रतुवा र चरीबाघ सवारीसाधनको ठक्कर र जङ्गली कुकुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ। मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुई हरिण पनि फागुनमा मरेका थिए।




