विराटनगर – परिवारले उपचार खर्च तिर्न नसकेपछि अस्पतालले शब नै बन्धक राखेको छ ।
धनुषाको धनुषाधाम ४ हरिपुरका कैलास कापरको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालले पैसा नर्तिदासम्म शब दिन अस्विकार गरेको हो ।
फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका कापरको न्युरो अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । उपचारकै क्रममा फागुन २० गते उनको मृत्यु भएपछि अस्पतालले परिवारले पैसा नतिरेको भन्दै शब दिन अस्वीकार गरेको आइतबारको अन्नपूर्णपोष्टमा समाचार छ ।
मृतकका हजुरवुवा मधुरी कापरले अस्पतालले नातिको शब बन्धक बनाएर राखेको बताए । पैसा नबुझाएका कारण शब हेर्न समेत नदिएको उनको भनाइ छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारको बाँकी रकम तिर्न सक्ने अवस्थामा नरहेको उनी बताउँछन् । मृतकका आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० हजार बुझाएका छन् । टाउकोको शल्यक्रिया गरिएको भन्दै अस्पतालले ३ लाख ८५ हजार रकम मागेको मधुरीले बताए ।
चार सन्तानमध्ये छोराको मृत्यु भएपछि बाबुआमा बेहोस रहेका छन् । तर अस्पतालले नातिको अन्तिम संस्कार गर्न पनि नदिएको पीडा उनले पोखेका छन् । भएको ५ धुर जग्गा बेचेर उपचार गरेको बताएका उनी भन्छन् ‘ऋण दिन कसैले मान्दैनन् ।’