कालीकोट। कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ । सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो ।
हरेक क्षेत्रमा पछाडि परेको पलाँता गाउँपालिकामा अहिले शल्यक्रियासहितको विशेषज्ञ सेवा शुरु गरिएको छ । नेपाल सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजनासहित अस्पतालको शिलान्यास भएपछि गाउँमा नै विशेषज्ञ सेवा दिन शुरु गरिएको हो ।
गाउँमा पहिले ज्वरो आउँदा सिटामोलसमेत नपाइने गरेको अहिले गाउँमा नै चिकित्सकसहित विशेषज्ञ सेवा सञ्चालन आएपछि सजिलो भएको पलाँता गाउँपालिका–९ का राजबहादुर बमले बताउनुभयो । “पहिलो औषधि नाममा सिटामोलसमेत पाइँदैनथ्यो । जडीबुटी र धामीझाँक्रीको भर पर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले गाउँमा डाक्टरसहितको विशेषज्ञ सेवा सञ्चालन आएपछि सहज भएको छ ।”
गाउँ जटिल खालका बिराम लागेर बसेकाहरुले अहिले औषधि उपचारका लागि स्वास्थ्य सेवा कार्यालयमा आउन थालेको र गाउँ नै शल्यक्रियासहितको उपचार हुन थालेको स्थानीय नरबहादुर रोकायाले जानकारी दिनुभयो । “घाउ खटिरा आउँदा पनि उपचार पाएका थिएनौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा नै विभिन्न रोगको सहजै उपचार पाउने गरेका छौँ ।” सामान्य बिरामी हुँदा सिटामोलसमेत नपाउने गरेको ठाउँमा अहिले विशेषज्ञ सेवा सञ्चालन गरिएको पलाँता अस्पतालका डा विजयकुमार महतोले बताउनुभयो । “दुर्गम ठाउँ भएकाले यहाँका स्थानीयवासीले सिटामोलसमेत पाउने गरेका थिएनन्”, उहाँले भन्नुभयो, “अहिले जटिलखालका बिरामीको शल्यक्रिया गर्न थालेका छौँ ।” विगतमा सामान्य ज्वरो आउँदा पनि जिल्ला सदरमुकाम मान्म र बाहिरी जिल्लामा जानुपर्ने बाध्यता अहिले हटेको स्थानीयवासी रामबहादुर बिकको भनाइ छ ।
“सामान्य बिरामी हुँदा पनि हामीले दशौँ हजार रुपैयाँ खर्च गरेर दुईतीन दिन हिँडेर जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अहिले गाउँमा नै डाक्टर’साब पाउँदा खुशी लागेको छ ।” देशमा तीन तहका सरकार बनेको अहिले गाउँमा नै चिकित्सक देख्न पाउँदा साँच्चै गाउँमा सिंहदरबार आएको अनुभूति भएको स्थानीय करवीर बमले बताउनुभयो ।