काठमाडौँ – पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो ।
सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पााच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको रणसिंह दल गणका गणपती उज्वल केसीले बताए ।
पैदलमार्गलाई एकीकरण पदमार्गको रुपमा प्रवर्द्धनका लागि यात्रा गरिएको नेपाली सेनाले जनाएको छ । इतिहासलाई जीवन्त राख्न यात्राले सघाउने गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । गढी, किल्ला र पदमार्ग पहिचान गरि संरक्षण गर्ने कार्यअन्तर्गत एकीकरण पदमार्गमा यात्रा गरिएको नेपाली सेनाका उपरथी विनयविक्रम राणाले बताए ।