March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

चासोक तङ्नाम एक: मनाउने तिथि, मिति अनेक

२०७९ कार्तिक २७

10.2K

हितराम तिल्लिङ

चासोेकको पृष्ठभूमि
याक्थुङ समुदायमा अन्नबाली पाकेपछि त्यसका केही अंश पहिलो तागेरा निङवाफुमाङ युमामाङलार्ई चढाएर मात्र मानिसले उपभोग गर्ने गरिन्छ । यसरी नयाँ अन्नबाली उपभोग गर्नको लागि पितृ वा प्रकृतिसँग अनुमति माग्ने अनुष्ठान वा पूजालाई चासोक् भनिन्छ । चासोक् पूजा लिम्बू समाजको सामाजिक एकता, प्रकृति र लिम्बू समुदायको सम्बन्धलार्ई अन्तरसम्बन्धित गराउने एक सामाजिक र धार्मिक कार्य हो । यो कार्य आदिम कालदेखि नै चलिआएको हो । यसरी युमा माङलार्ई नचढाई खाएमा रोगव्याधले सताउने, अशुभ हुने, अनिष्ट हुने, गाँड निस्कने आदीजस्ता विश्वास रहिआएको छ । यो चासोक पूजा प्रत्येक लिम्बूको घर घरमा गर्ने गरिन्छ । यो लिम्बू समुदायमा मकै, धान, कोदो पाकेपछि कुनै पनि जीवजन्तुले जुठो नलगाइ वा खानु अगाडि चोखो रुपमा देवतालार्ई चढाउनु पर्छ । कुनै जनावरले खानु, जुठो लगाउनु भनेको असुद्धी बनाउनु हो । अझ मान्छेले त मुखमा लगाउन नै हुदैन । यसरी लगाए विथोल पर्छ, घरमा विरामी परिन्छ, गाँड निस्कन्छ, बालीनाली सप्रिन्दैन, देवी देवताहरु रिसाउँछन् र अर्कोपटक राम्रोसँग बाली नाली नहुने तथा विरामी पर्न पनि सकिने, लालाबाला बच्चा खोरोन्डो जन्मिने, वस्तु भाउमा विथोल पर्ने आदि हुन्छन् भन्ने विश्वासहरु पाइन्छ । खेती लगाइ अन्न पाकेपछि त्यसको फल मान्छेले खानुअघि प्रकृतिलार्ई नै अर्पण गर्नुपर्ने मान्यता छ । त्यसो नगरेबापत परिवार तथा समाजमा आउने अनिष्ट, असुरक्षा, विपत हुने भएकोले रक्षाको खातिर नै चासोक पूजाको विकास लिम्बू समुदायमा भएको हो । यसरी चासोक अनुष्ठानको साँस्कृतिक कार्यले लिम्बू समुदायमा कर्तव्यबोध नगरे त्यसको परिणाम भोग्नु पर्छ भन्ने विम्बात्मक अर्थहरु पनि बोकेको छ । चासोकले साँस्कृतिक र सामाजिक महत्वका साथसाथै धार्मिक महत्व पनि बोकेको छ । यस पर्वले लिम्बु जातिको पहिचान र साँसकृतिक गौरव बढाउने काम एकातिर गरेको छ भने अर्कोतिर यसले लिम्बु जातिबिच सामाजिक सद्भाव एकता र पारस्पारिक सहयोगको भावना अभिवृद्धि गर्नमा ठुलो भूमिका निर्वाह गरेको छ ।

चासोक्को उत्पत्ति
चासोकको उत्पत्तिको बारेमा ठाउँ अनुसार विविध मिथकहरु छन् । याक्थुङ समुदायमा अन्नको विकास वा खेति शुरु गर्ने क्रममा आदिम मानव सिकेरा एक्थुक्नामाले पारामा(वनकोदो), पयामा(कागुन) छरेर खेती गरेको र उक्त धान, कोदो, कागुन पाकेपछि तागेरा निङवाफुमाङ युमामाङलार्ई नचढाइ खाएकाले गाँड निस्केको घट्ना मुन्धुममा उल्लेख छ । अर्को मिथक अनुसार भङ्गेरा (माक्चेरापु)ले धानको विउ (गेडा) ल्याएको र सोधुङगेन लेप्मुहाङ्को छोरा पाजाइबा र उसकी श्रीमती लुप्लिना वदङनामाले खेतिपातीको शुरुवात गरेको हुनाले उनीहरुलार्ई अर्पण गरेर मात्र खान हुने कुरा उल्लेख छ, । त्यसैगरी अर्को मिथकमा मुजिङ्ना खेयङ्ना आफू गर्भवती भएपछि तागेरा निङवाभुमाङ युमामाङको उपदेश अनुसार पियामा (कागुन) र हक्चमा अन्नको बिउबिजन ल्याएर खेती गर्छिन । खेतिमा फलेको पहिलो फललार्ई तागेरा निङवाभुमाङ युमामाङ नचढाई उपभोग गरेकोले अनिष्ट भएको तथा गाँड निस्केकोले चासोकको शुरुवात भएको मुन्धुममा उल्लेख छ ।
चासोक तङ्नामले साँस्कृतिक र सामाजिक महत्वका साथसाथै धार्मिक महत्व पनि बोकेको छ । यस पर्वले लिम्बु जातिको पहिचान र साँस्कृतिक गौरव बढाउने काम एकातिर गरेको छ भने अर्कोतिर यसले लिम्बु जातीबिच सामाजिक सद्भाव एकता र पारस्पारिक सहयोगको भावना अभिवृद्धि गर्नमा ठुलो भूमिका निर्वाह गरेको छ ।

Advertisement

चासोक् पूजा विधि
लिम्बूहरुले धान अर्थात चासोक् गर्ने विधि घर र महिलाको देवता अनुसार फरकफरक हुन्छ । साधारणतया एक न्वाङ्गीमा घर भित्र गरिने पूजीने देवी देउता र सामाग्रीहरुका आ–आप्mनो महत्व रहेको छ । चासोक् पूजामा चाहिने सबै सामानहरु तयार पारेपछि सबै देवी देवतालार्ई थान बनाउन पुग्ने गरी चोखो माटोले चुल्होको छेउमा लिपिन्छ । पूजा गर्ने स्थान सामान्यत घरको भित्ता अर्थात भूमिको उचाई पट्टिको भित्तातिरको भागमा थान बनाइन्छ । पूजा सुरु गरे लगत्तै साम्माङ् तक् (देवतालार्ई चढाउने नयाँ चामलको भात) क्रमश : मिसेक्, युमासाम्माङ्, पाङसाम्माङ् (पाङ्ओमा), मुदेम्बा आदी साम्माङहरुमा अर्पण गरिन्छ । कतिपयकोमा जिउँदा माछा, गड्यौला, कोदोे, चल्ला, अण्डा, आदि इतयादि चाहिन्छ भने नयाँ चामल अनिवार्य हुनु पर्दछ । साथमा नयाँ कोदोको गेडा, बाला पनि चाहिन्छ । आ–आप्mनो देवता अनुसार लिम्बूहरुले घर भित्रको र बाहिर पुङ (घर बाहिरको खोल्मे देवता) लार्ई पनि पूज्ने गर्दछन् । बलि चढाएर र कतिले नचढाएर गर्दछन् जुन कर्ताले पुज्ने देवताको विधिमा भर पर्दछ ।

चासोकको प्रकार
सामुहिक, निजी र सस्थागत गरी ३ प्रकारले मनाइन्छ ।
१. सामूहिक चासोक् पूजा: नजिक वंशका दाजुभाइ मिलेर सामुदायिक वा समूहगत रुपमा चासोक पूजा गर्ने परम्परा छ । सामूहिक चासोक् लिम्बू समुदायको बसाई समुदायमा वंशगत बनोट र भौगोलिक वा वातावरणीय पक्ष अनुसार समापन हुने हुँदा सबैको पूजा एकै समय र दिनमा हुँदैन । यो पूजा समुदायको निश्चित र सवैलार्ई पायक पर्ने गरिको उचो या चोखो स्थानहरुमा गरिन्छ । विशेषता यो असोज कार्तिक महिना भित्र सम्पन्न गरिन्छ । यस पूजामा समुदायका सबै मान्छेहरु भेला हुन्छन् । गाउँमा सबै भन्दा पहिलो धान जसको खेतमा पाकेको छ, त्यसले अक्षेता नयाँ धानको निकाल्नु पर्छ । समुदायका अन्यले भेटी पैसा संकलन गरेर पूजा खर्च जुटाउनु पर्छ । पूजा सकिएपछि भोगबलि दिइएको पंक्षी जनावरको मासु प्रसादको रुपमा त्यही पकाएर खाने गरिन्छ । चासोक् पूजा गरेको दिन त्यो समुदायमा बस्ने कसैले पनि कामहरु गर्न हुँदैन । विशेषतः खन्ने, जोत्ने, खेती पातीका कामहरु गर्न हुदैन । यसरी सामूहिक चासोक्को सामाजिक निरन्तरता र व्यवस्थापनमा ठूलो महत्व छ । सामूहिक चासोकले आप्mनै खालको सामाजिक र साँस्कृतिक सञ्चालन हुन सहयोग गर्दछ । पूजामा भेला भएकाहरु काम विभाजन गरेर कोही सामग्री तयार पार्ने, कोही भेला पार्ने, कोही आगो, दाउरा, पानी जोडजाम गर्ने सबै सामूहिक रुपमा गर्छन् । बुढा पाकाहरु पूजाको विधि तलमाथि प¥यो की निगरानी गर्छन् । कोही बितेका कुराहरु, कोही समसामयिक बिषयवस्तुहरु भने कोही राजनैतिक गफहरु गरिरहेका हुन्छन् । आपसमा छेडखानी पनि हुन्छ । साथै छेलो हान्ने, फाल हान्ने पनि ठाउँ अनुसार हुन्छ । एकआपसमा चिनजान हुनको साथै बिचार आदानप्रदान र मनोरन्जन हुनाले सामाजिक सद्भाव कायम रहन जान्छ । यसैको बिकसित रुप नै सस्थागत चासोक भन्न सकिन्छ । सामुहिक चासोक् सम्पन्न भइसकेपछि मात्र व्यक्तिले घर घरमा निजि चासोक् गर्ने गरिन्छ । सामुहिक चासोक् छथर तिरको याक्थुुङ समुदायमा अनिवार्य छ ।

२. निजि चासोक् पूजा: सामूहिक चासोक् गरिसकेपछि त्यो पूजा गर्ने परिवार वा व्यक्तिहरु घर घरमा वा निजि रुपमा चासोक् गर्न फुक्का हुन्छन् । निजि चासोक सबै याक्थुङले अनिबार्य गर्नैपर्छ । घर घरमा गरिने चासोक् अझ एकै घरमा २/३ जना बुहारी छन् भने २/३ वटा चासोक पूजा गरिन्छ । लिम्बू समुदायमा साम्माङ (देवीदेवता) महिला (बुहारी)को हुन्छ । बुहारीले आफ्नो आमाको साम्माङ (देवीदेवता) लिएर आउँछन् भने छोरीहरु विवाह गरेर गएमा साम्माङ लिएर जान्छन् । यसरी महिला कर्ता भएर चासोक् पूजाहरु सम्पन्न गरिन्छ । बुहारीले माइती अर्थात बुहारीको आमाको साम्माङ ल्याउने हुनाले नै जस्तो बुहारीको साम्माङ हुन्छ, त्यही अनुसार चासोक् लगायतका पूजा र सामग्री लगाएर पूजारीले पूजा गरिदिनु पर्दछ । निजि चासोक पुजा याक्थुुङ समुदायका हरेक परिवारलार्ई अनिवार्य छ ।

३. संस्थागत चासोक् पूजा: हाल बिशेषगरी शहरबजारमा चासोक अनुष्ठानलार्ई चाडको रुपमा विकास गरी उत्सवको रुपमा मनाउन थालेका छन । किराँत याक्थुङ चुम्लुङ लगायत प्राय लिम्बुजन्य संघसस्थाहरुले धान्य पूर्णिमाको अवसरमा मनाइरहेका छन् भने युमा साम्यो मभहासभा नेपाल र हालसालै स्थापित याक्थुङ चुम्लुङले हरेक वर्षको मंसिर १ गतेको अवसर पारेर चासोक तङ्नाम मनाईरहेको छ । किराँत धर्म सत्यहाङमा सेवा संघ र किराँत धर्म तथा साहित्य उत्थान संघले हरेक बर्षको कार्तिके पुर्णिमाको दिन चासोक मोबेक्वा तङ्नाम नामाकरण गरी पूजा गर्दै आइरहेका छन । संस्थागत चासोक् पूजा गर्दा माथि उल्लेखित सामूहिक पूजा गरिने साम्माङ मिसेक, यूमा, पुङ, मुदेम्बा, लाम्भोबा आदि गरिन्छ । यसमा याक्थुङ समुदायका सवै घरपरिवारले गर्नैपर्छ भन्ने अनिवार्य छैन, सस्थामा आबद्ध ईच्छुक सदस्यहरु मात्र आआफ्नो सस्थाले तोकेको तिथिमितिमा सहभागि भई मौलिक खेलकुद तथा मनोरञ्जनका साथ चासोक उत्सवको रुपमा मनाउन थालिएको छ ।

चासोक मनाउने तिथि, मितिमा अनेकता
विशेषगरी कोदो र धानको बाला लाग्न थालेपछि सामुहिक चासोक गरिन्छ । सामुहिक चासोक सकिएर मकै, धान र कोदो पाकेपछि मात्र प्रत्येक घरमा आफ्नो अनुकुल समयमा निजि चासोक पुजा गरिन्छ । लगबग निजि चासोक सकिएपछि संघसस्थामा आबद्ध व्यत्तित्वहरुले सस्थागत रुपमा गर्न थालिएको छ । लिम्बू जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङको स्थापना वि.सं.२०४६ सालमा भएपछि चासोकलार्ई पर्वको रुपमा विकास गर्न हरेक वर्ष कार्तिक पूर्णिमाको दिन संस्थागत चासोक मनाउन शुरु गरेका थिए । पछि राई, सुनुवार र याक्खा जातिलार्ई समन्वय गरी मंसिर पूर्णिमा तथा धान्य पूर्णिमाको दिन चासोक् मनाउने निर्णय गरे । हाल यही तिथिमा गाउँ–गाउँमा लिम्बूजन्य संघ सस्थाले मनाउन थालेका छन् ।
यसरी किराँत याक्थुङ चुम्लुङले मंसिर पूर्णिमा, किराँत धर्म सत्यहाङमा सेवा संघ र किराँत धर्म तथा साहित्य उत्थान संघले कार्तिके पूर्णिमा, युमा साम्यो मभहासभा नेपाल र हालसालै स्थापित याक्थुङ चुम्लुङले मंसिर १ गते चासोक तङ्नामको तिथि मिति तोकी भब्यताका साथ मनाईरहेको छन । उत्त संघ सस्थाहरुले फरक फरक तिथि मितिमा चासोक मनाउनका कारण आआफ्नै तर्क र बिचारहरु छन् ।

निष्कर्ष
लिम्बु समुदायमा प्राय भदौ महिना देखि अन्न पाक्न थाल्छ । धान र कोदो असोज, कार्तिक महिनातिर पाक्छ । पहाडी लिम्बु समुदायमा सामुहिक र निजि चासोक भदौ देखि शुरु भएर असोज र कार्तिक महिनासम्म चलिरहन्छ । यता शहर बजारतिरका कियाचुमा आबद्ध लिम्बु समुदायले धान्य पूर्णिमामा संस्थागत चासोक मनाइरहेका छन । पछिल्लो समयमा युमा साम्यो महासभाले मंसिर १ मनाइरहेको छ । धान्य पूर्णिमा कहिले कार्तिकमा पर्छ भने कहिले पौषमा पर्न जान्छ । पौष महिना पूजाको लागि उचित मानिदैन । नयाँ अन्न चासोक पुजा गरेपछि मात्र खानहुने भएकाले उत्त महिनासम्म ढिला भइसकेको हुन्छ । लिम्बु जाति तिथिसंग कुनै सम्बन्ध छैन । त्यसैले धान्य पूर्णिमामा नै हुनुपर्छ भन्ने पनि छैन । बिगत धेरै बर्ष अघिदेखि लिम्बु संस्कार संसकृतिमा राज्यद्धरा दमन र नेपाल हिन्दु अधिराज्य घोषणा भएसंगै हिन्दु सस्कारमा हुर्कियौं । त्यसैको परिणामस्वरुप हिन्दु तिथिको अवसरमा हामिले हाम्रो पर्वहरु मान्न थाल्यौं । तथापी, पछिल्लो समय लिम्बु समुदायमा पहिचान र मौलिक संस्कार सम्बन्धि चेतनाको लहर फैलिएको छ । अझ थप अध्ययन गरी मौलिक बनाउन जरुरी छ । जसले सामाजिक सद्भाव एकता कायम गरोस् ।

लेखक लिम्बु भाषा संस्कृति तथा चाडपर्वका अध्येयता हुन् ।