April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपाल आउने, २२ करोड बढीको सामग्री सहयोग गर्ने

2K

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिवसीय भ्रमणका लागि २०७९ भदौ १९ गते आइतबार उनी नेपाल आइपुग्नेछन् ।

नेपाली सेनाका परमाधिपति अर्थात राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए ।

यसअघि सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् । प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।

Advertisement

भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण, सम्मान गारत निरीक्षण, प्रधानसेनापति शर्मासँग भेटवार्ता, सहयोग सामग्री हस्तान्तरण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्र्रियालगायतका कार्यक्रमा सहभागी हुनेछन् ।

सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा करिब रु २२ करोड ३८ लाख ३८ हजार मूल्य बराबरको तोप मर्मतसम्भारका पार्टपुर्जा, घोडा, सिमुलेटर, विस्फोटक पदार्थ प्रतिरोध सवारी साधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरणको सहयोग उपलब्ध गराउने भएको छ ।