पोखरा – पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ । तालको सिरान क्षेत्रबाट बगेर आएको ढुङ्गा माटो (ग्रेगान)कारण तालको आयु घट्दै गएको जनाउँदै यसअघि पनि समयसमयमा माटो निकाल्नुपर्छ भन्ने विषयमा कुरा उठ्दै आइरहेको थियो ।
सम्पदा संरक्षण अधिकारकर्मी रामबहादुर पौडेलले तालको पानी घटाइएकाले थुप्रिएका माटो निकाल्न उपयुक्त समय भएको बताउनुहुन्छ । “फेवाताल पोखराको गहना हो, तालको आयुलाई बढाउन यसरी थुप्रिएको माटोलाई समयमै निकालेर फाल्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले यस विषयसम्बन्धी निकायको ध्यानाकषर्ण गरेर नागरिकस्तरबाट पनि माटो फाल्नका लागि पहल गरिने उहाँले जानकारी दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पनि तालको सौन्दर्यअभिवृद्धि लागि अहिले तालमा बगेर आएको माटोलाई फाल्नुपर्ने धारणा राख्नहुन्छ । “अहिले सही समय हो जनस्तरबाट पनि माटो फाल्नुपर्छ भन्ने कुरा आएको छ, हामी पनि त्यस कुरामा साथ दिन तयार छौँ”, उहाँले भन्नुभयो ।
उहाँले अहिले फेवाताल वरिपरि रहेको फोेहर मैला व्यवस्थापन गर्ने, फेवातालभित्र रहेको मलिलो माटो झिकेर सही सदुपयोग गर्ने र ताललाई फराकिलो बनाएर थप सौन्दर्यकरण गर्न पोखरा महानगरपालिकालाई समन्वयनका लागि आग्रहसमेत गरिएको बताउनुभयो । पोखरा महानगपालिका प्रमुख मानबहादुर जिसीले फेवातालको माटो निकाल्ने विषयमा विज्ञको रायसुझाव लिएर मात्र निर्णय गरिने जानकारी दिनुभयो । “अहिले बाँध निर्माणका लागि फेवातालको पानी घटाइएको छ, सिरानबाट आएका ग्रेगानले तालको लगभग नौ मिटर पुरिसकेको अवस्था रहेकाले यसलाई निकै चासोका रुपमा महानगरले लिएको छ”, उहाँले भन्नुभयो ।
उहाँले तालको माटोलाई कसरी निकाल्न सकिन्छ र कहाँ व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे पहिला सरोकारवाला विज्ञसँग परामर्श गरेर अघि बढ्ने बताउनुभयो । “फेवातालले लामो समयदेखि आफ्नो आकार बनाएको छ, माटो फाल्दा ताल सुक्ने पो हो कि ? माटो अध्ययन नगरी डोजर लगाउन भएन, माटो फाल्दा पोखरी सुकेका धेरै उदाहरण छ”, उहाँले थप्नुभयो, “यो बेलामा माटो झिक्न कति बजेट लाग्छ, कहाँ व्यवस्थापन गर्ने, सबै अध्ययन र योजना बनाएर मात्र काम थालनी हुन्छ ।” बाँध बनाउन डेढ दुई महिना लाग्ने भएकाले तत्काल फालिहाल्नु पर्छ भनेर दबाबले मात्र नभई ग्रेगान निकाल्दा जलचर र ताललाई कम असर हुने उपायको खोजीबाट अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
तालको आयु दिनप्रति घटिरहेको अवस्थामा तालको आयु बढाउन सरोकारवालासँग छलफल गरिने उहाँको भनाइ छ । ताल संरक्षण तथा प्राधिकरणका प्रमुख अनुप गुरुङले तालको फोहर व्यवस्थापन र तालमा थुप्रिएको माटो निकाल्न अहिले उपयुक्त समय रहेको बताउनुभयो । “अहिले सही समय देखिएको छ, यसबारेमा महानगरले विज्ञको राय सल्लाह लिएर अघि बढ्दा राम्रो हुन्छ । महानगसँग समन्वय गरेर सुकिसकेको माटो निकाल्न मिल्छ”, उहाँले भन्नुभयो । महानगरबाटै यसको अगुवाइ गर्नुपर्ने उहाँको भनाइ छ ।