काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेराकोठामा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले काठमाडौं बालाजु हाइट बस्ने ४२ वर्षीय मनिष राजवहाक,सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ पड्कु घर भई हाल काठमाडौंको गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धादिङको धुनिबेशी नगरपालिका–७ खानीखोला बस्ने ४५ वर्षीय संजय श्रेष्ठलाई पक्राउ गरेको हो ।
विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिइएका उनीहरुको साथबाट नक्कली गरगहना तथा अन्य सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये मनिष राजवहाक गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा नख्खु कारागारबाट फरार भएका थिए । फरार भएयता उनले काठमाडौंका पाँच स्थानमा चोरी गरेको तथ्य खुल्न आएको प्रहरीले जनाएको छ ।
यस्तै, खिमबहादुर खड्का बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त हुन् भने संजय श्रेष्ठ जबरजस्ती करणी मुद्दाका आरोपित रहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।