काठमाडौं – नेपाली कांग्रेसमा संस्थापन समुह र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न नसक्दा शीर्ष नेताहरुको छलफल लम्बिएको छ।
नेता पौडेलसहित २७ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई बुझाएको असहमतिपत्रमाथि लगातार छलफल हुँदा पनि सहमति जुट्न नसकेको हो।
सोहि विषयमा छलफल गर्न आज पनि दिउँसो एक बजे शीर्ष नेताहरुको बैठक बस्दैछ।
सभापति देउवा निवास बुढानिलण्ठमा बस्ने बैठकमा पार्टीका पदाधिकारी, पुर्वपदाधिकारी र शीर्ष नेताहरु सहभागी हुनेछन्। आफुहरुले अघि सारेका असहमतिका बुँदालाई सभापतिले गम्भीर रुपमा नलिएका कारण छलफल लम्बिएको पौडेल पक्षले जनाएको छ।
सहमतिका लागि भन्दै गत शुक्रबारका लागि तय गरिएको पार्टीको केन्द्रिय कार्यसमिति बैठक पनि भोलिसम्मका लागि सारिएको छ। पौडेलसहितका नेताले सभापतिले एकलौटी ढंगले विभाग बिस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको लगायतको आरोप लगाएका छन्।
एकलौटी रुपमा गठन गरेको विभाग खारेज हुनुपर्ने पौडेल समूहको माग छ। तर देउवाले विभाग गठन फिर्ता नहुने र अन्य बिषयमा छलफल गर्न आफु तयार रहेको बैठकमा जवाफ दिइसकेकाले सहमति जुट्ने प्रयास न्युन रहेपनि छलफल भने चलिरहेको छ।