काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित १० घटकको एकता घोषणा हुँदैछ।
भृकुटीमण्डपमा जारी घोषणा समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादीका, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी र प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायत विभिन्न कम्युनिस्ट घटकहरूबीच एकता हुन लागेको हो ।
एकताको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एकता घोषणा कार्यक्रमको बीचमा पुगेका छन्। यसअघि उनले अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गरेर माओवादीसँग मिल्न लागेको आरोप लगाएका थिए।
माओवादीसँग पार्टी एकता गरी पार्टीलाई विसर्जन गर्न खोजेको भन्दै एकता प्रक्रियाको विपक्षमा उभिएका उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले पुराना नेताहरू फर्कन सक्ने बताएपछि एमालेमा जाने तयारीमा समेत थिए ।
खनालले मंगलबार साँझ ओलीसँग पनि भेटेका थिए । तर बुधबार भृकुटीमण्डमा एकतापछिको नेपाली कम्युनिस्ट पार्टी प्रस्तावित चुनाव चिह्व ताराअंकित ‘ब्याज’ लगाएर बसेका छन् ।
खनालले माओवादीसँग मात्र भन्दा पनि सम्पूर्ण वामपन्थीहरूकोबीचमा कार्यगत एकता अहिलेको आवश्यकता भन्दै आएका थिए ।




