November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काठमाडौंको संवेदनशील ठाउँमा प्रहरीको कमाण्डो टोली परिचालन

565

काठमाडौं । मंगलबार बिहानैदेखि काठमाडौंको संवेदनशील ठाउँमा प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ । जेन–जी समूहको धम्कीपछि आज प्रहरीको कमाण्डो टोली परिचालन गरिएको बुझिएको छ ।

बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास, बालुवाटार र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको क्षेत्रमा कमाण्डो टोली तैनाथ गरिएको हो ।

ती क्षेत्रमा छानिएका प्रहरी अधिकृतलाई बोलाएर खटाइएको छ । साथै संवेदनशील क्षेत्रमा भिड जम्मा भए साथै सुरक्षालाई चुनौती दिने गतिविधि भए सिलसिलेबार बल प्रयोग गरिने प्रहरीले जनाएको छ ।

Advertisement

सोमबार राति प्रधानमन्त्री निवास, बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आईजी चन्द्रकुवेर खापुङले प्रहरीलाई जेनजी समूहले कार्यालयमै आएर धम्की दिएकोप्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रहरी मनोबल खस्किने कुनै पनि कार्य जायज नभएको बताएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार सुरक्षा चुनौती भएका ठाउँमा विशेष सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम आज बिहानैबाट दुई ठाउँमा कमाण्डो टोली परिचालन गरिएको छ ।

उक्त टोलीलाई भिड नियन्त्रणका निम्ति चेतावनी दिनेदेखि बल प्रयोग गर्नेसम्मको अधिकार छ ।

तस्बिरः फाइलमा आधारित