काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशमा लगानी भित्रिँदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही नगरिएको बताउनुभएको छ ।
उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा श्रीराम सुगर मिल्सले उखु किसानलाई भुक्तानी नदिएको सम्बन्धमा छलफल गर्न उपस्थित हुनुभएका मन्त्री भट्टले कोभिड–१९ को समयमा उद्योगीहरुलाई कारबाही गरी हतोत्साही पार्न नसकिएको बताउनुभएको हो ।
चिनी उद्योगलाई बचाउने वा रुग्ण घोषित गरी असुल उपर गर्ने दुई विकल्प मात्रै भए पनि किसान तथा श्रमिकलाई भुक्तानी नदिने उद्योगीहरुलाई अहिलेको अवस्थामा हतोत्साही गर्ने गरी कारबाही गर्न नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘श्रीरामको सन्दर्भमा उसले मैले अन्यबाट सकिन्नँ, यो १० बिगाहा बिक्री गर्न पायो भने मन्त्रालयले दिएका चार वटा सर्तहरु पालना गर्छु, भूमि व्यवस्था मन्त्रालयलाई सिफारिस गर्दिनुपर्याे भनेर उसले निवेदन दिइसकेपछि हामीले सिफारिस गरिदिएको हो । अब हाम्रो उद्योग मन्त्रालयबाट गर्नुपर्ने कुरा भनेकाे उसकाे अन्यत्र जायजेथा छ भने त्यहाँबाट असुलउपर गर्ने, थुनुवा गर्ने हो । त्यसले अहिले लगानी भित्र्याउन खोजिराखेका छौँ । अझ कोभिडको यो परिस्थितिमा उद्योगी व्यवसायीहरुलाई भित्रै हालेर त्यसको अन्य जायजेथाबाट असुलउपर गरेपछि लगानी आउँछ कि आउँदैन, देश औद्योगिकिकरण जान्छ कि जाँदैन भन्ने हामीलाई दुविधा भएको हो । कसैलाई छुट दिने भन्ने कुरा होइन ।’
मन्त्रालयले चिनी उद्योगहरुलाई बचाउने गरी वस्तुवादी वैज्ञानिक निकास दिन निरन्तर छलफल गरिरहेको पनि मन्त्री भट्टले बताउनुभयो ।
कोभिड महामारीको समयमा त्यसै पनि उद्योगी व्यवसायीहरु मारमा परेको अवस्थामा कुनै पनि उद्योगलाई कारबाही गर्दा नराम्रो सन्देश जाने भएकाले तत्काल कारबाही गर्न उचित नहुने उहाँले बताउनुभयो ।