November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

लोकतन्त्रकै कारण संविधान समावेशी बनेको हो: उमाकान्त चौधरी

1.4K

लन्डन, बेलायत । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री उमाकान्त चौधरीले लोकतन्त्रकै कारण संविधान समावेशी भएको बताएका छन् । नेपाली जनसम्पर्क समिति, बेलायतले शनिबार फेल्थामस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लोकतन्त्रकै कारण आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, महिला सबैले आफ्नो हकअधिकार पाएको बताएका हुन् ।

चौधरीले राजनीति स्थायित्व र समृद्धिका लागि सरकारमा गएको बताए । “यो कुनै रहर हैन । यो अहिलेको मुलुकको लोकतन्त्रलाई संस्थागत र लोकतन्त्रलाई दिगोपनका लागि हामी अहिले सरकारमा गएका छौं”, उनले भने, “तर आज सबैभन्दा गम्भीर कुरा छ, राजावादीको । अब म एउटा आग्रह गर्न चाहन्छु लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रको दिगोपन भनेको, तागत भनेको लोकतन्त्रको समृद्धि र विकास निर्माण नै हो । लोकतन्त्रको दिगोपन र यसको तागत भनेको यो देशको सुशासन नै हो । त्यसकारण हामी भ्रममा नपरौं ।”

यस व्यावस्थामा थुप्रै कमिकमजोरी भएको स्वीकार गर्दै चौधरीले लोकतन्त्र भएकै कारण थुप्रै मौलिक हकहरू प्राप्त भएको पनि बताए । उनले भने, “आज लोकतन्त्र भएकै कारण थुप्रै मौलिक हकहरू प्राप्त भएको छ, संघीयता प्राप्त भएको छ । समावेशीता प्राप्त भएको छ । तर कमिकमजोरी भएकै छ । आज संविधान बनेको ३ बर्षंभित्र लागु हुनुपर्नेमा आज ९ बर्ष बितिसक्दा पनि संविधानमा भएका ऐनहरू नबनेको कारण आज के कति लागु भए? हकअधिकारदेखि लिएर केके लागु भए ? के कति कारणले लागु भएनन् ? आज आज समिक्षा र मुल्याङ्कन गर्नुपर्ने उनले बताए ।

Advertisement

यस्तै, नेपाली जनसम्पर्क समितिको क्रियाशील सदस्यताको विषयलाई लिएर भएको विवादमा विधिविधानलाई मानेर जानुपर्ने उनले बताए । “क्रियाशीलकै कुरामा पनि यहाँ साथीहरूको विवादको कुराहरू उठेको छ । मलाई लाग्छ, यो पनि हामी विधिविधान र नीतिगत कुरामा त्यो पनि एउटा निमिट्यान्न भएर जानेछ । अब यो मेरो–तेरो हैन, विधिविधानले जो मानेर आएको छ’, उनले भने, “जो प्रक्रियागत, जो यथार्थ हुन्छ, त्यसलाई नै हामीले मानेर स्वीकार गरेर हामी अगाडी बड्नुपर्छ ।”

भ्रमणका क्रममा बेलायत आइपुगेका चौधरीलाई नेपाली जनसम्पर्क समितिले उनको सम्मानमा सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

हडर्सफिल्ड विश्वविद्यालयको ‘स्कूल अब ह्युमन एण्ड हेल्थ साइन्स’ द्वारा जुन २५ र २६ मा आयोजना हुन लागेको तेस्रो वार्षिक ‘ग्लोबल कन्सोर्टियम फर पब्लिक हेल्थ रिसर्च’ सम्मेलनमा सहभागि हुन पूर्वस्वास्थ्य मन्त्री चौधरी बेलायत आएका हुन् ।

बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट वि.सं. २०५६ र २०७४ मा संघीय सांसद तथा २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित चौधरीले अघिल्लो कार्यकालमा खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनी २०६३ मा कृषि तथा सहकारी राज्यमन्त्री र २०६५ मा स्वास्थ्य मन्त्री समेत बनेका थिए।

उनी यसपटक पत्नी गायत्रीदेवी थारूनी र छोरी डा. अर्चना चौधरीसहित बेलायत भ्रमणमा आएका छन् ।

कार्यक्रममा नेपाली विद्यार्थीहरुले बेलायतमा आफूहरूमाथि हुने ठगीका बारेमा उठाएको समस्या बारे बोल्दै जनसम्पर्क समितिका सभापति युवराज गुरुङले यूकेमा विद्यार्थीहरुमा माथि हुने ठगी नेपालीहरुबाटै भएको प्रष्ट पारे । “विद्यार्थी भाइहरुले एउटा समस्याको कुरा ल्याउनुभयो । अहिले सामाजिक संजालमा छ्याप्छ्याप्ति देख्छौं”, सभापति गुरुङले भने, “बेलायतमा विद्यार्थी भाइबहिनीहरू जतिपनि नेपालबाट आउनुभएको छ, यो ठगी सप्पै विदेशीबाट नभएर हाम्रै नेपालीबाट, हाम्रै नेपाली समुदायका दुईचारजना नेपाली समुदायका समाजसेवी हुँ भन्ने ढोंगीहरुले विद्यार्थी भाइबहिनीहरुलाई ठगीरहेको छ ।”

सभापति गुरुङले आफूले नेतृत्व गरेको जनसम्पर्क समिति नै आधिकारिक भएको प्रष्ट पार्दै कसैलाई भ्रममा नपर्न आग्रह गरे । “जनसम्पर्क समिति, बेलायत एउटै मात्रै छ । कोही पनि साथीहरू भ्रममा नपरिदिनुहुन जनसम्पर्क समिति बेलायतको आधिकारिक समिति भनेको युवराज गुरुङले नेतृत्व गरेको समिति हो । र, यही समितिमार्फद क्रियाशील सदस्यता वितरण र नवीकरण हुने हुनाले तपाइँहरु अहिले जति यो स्वघोषित सभापति हुँ, महामन्त्री हुँ, उपसभापति हुँ भनेर संस्थाको लोगो दुरुपयोग गरेर कतिपय व्यक्तिहरुलाई आर्थिक घोटाला गरेको कुराहरू पनि आएको हुनाले तपाइँहरु यसमा कुनैपनि दुविधामा नपर्नुहोस् ।”

कार्यक्रममा महामन्त्री इन्द्रहाङ लिङ्देन, समितिका सम्पूर्ण पदाधिकारीहरू, सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, सल्लाहकारहरू, क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलगायतको उपस्थिति रहेको थियो ।