November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ आयोजना हुँदै

845

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले नेपाली गीत सङ्गीत र नाट्यकला क्षेत्रको विकास, प्रवर्धन, र मौलिकताको संरक्षणका लागि उक्त उत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

उत्सवमा सातै प्रदेशका कलाकारहरूको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ । ‘नेपाली लोकसङ्गीत, शास्त्रीय संगीत, नाट्यकला, र सांस्कृतिक विविधताको बहुआयामिक प्रस्तुति रहने यस उत्सवमा सातै प्रदेशका चर्चित तथा उदाउँदा कलाकारहरूको सहभागिता रहनेछ’–कुलपति निशा शर्मा पोखरेलले बताइन्, ‘यसले देशको सांस्कृतिक विविधता र समृद्धतालाई एउटै मञ्चमा समेट्ने अमुल्य अवसर प्रदान गर्नेछ ।’

यस्तै, उक्त उत्सवले नेपाली मौलिक धुन, वाद्ययन्त्र, र नाट्य परम्पराको पुनरावलोकन गर्दै नवप्रवर्तनशील सिर्जनशीलता प्रस्तुत गरिने अपेक्षा गरिएको उपकुलपति शम्भु राईले बताए । ‘बाहिरी सांस्कृतिक हस्तक्षेपले हामीलाई उथलपुल बनाइरहेको अवस्थामा, हाम्रो संस्कृतिहरू बिलाइरहेको अवस्थामा हाम्रो संस्कृतिलाई कसरी अगाडि ल्याउने ? बारेमा हामीले धेरैपटक छलफल ग¥यौं’, उनले भने–‘र, यसबाट हामीले के निष्कर्ष निकाल्यौं भने सातैवटा प्रदेशको कला र संस्कृति, नाटक, नृत्यहरू, लोकगीतहरू कसरी एकठाउँ राखेर त्यसलाई एकअर्कामा परिचित गर्ने भन्ने बारेमा भएको छलफलबाट यो कार्यक्रम गर्ने योजना भयो ।’

Advertisement

उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका बुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र कलेजका विद्यार्थीलाईसमेत सहभागी गराइने उत्सवका संयोजकसमेत रहेका उपकुलपति राईले जानकारी दिए ।

नेपाली गीत सङ्गीत र नाट्यकला क्षेत्रको विकास, प्रवर्धन, र मौलिकताको संरक्षण गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त उत्सवमा हराउँदै गएको परम्परागत साँस्कृतिक पहिचानलाई पुनः जीवन्त बनाउनुका साथै नयाँ पुस्तालाई त्यसको गहिराइसँग परिचित गराउने र राष्ट्रिय गौरवका धरोहराहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने प्रयत्न रहेको प्रतिष्ठानको दाबी छ ।

प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महराका अनुसार उत्सवमा सात प्रदेशका विभिन्न मौलिक गीतसङ्गीत एवं नृत्यको प्रस्तुतिका साथै लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो ?’ माथि नाटक मञ्चन गरिने छ । उक्त कविता निर्देशन र परिकल्पना विरेन्द्र हमालको रहेको छ ।

यस्तै, कोशी प्रदेशबाट ढोल नाच र माखन्डासे गीत, मधेश प्रदेशबाट ‘इ है हमा जनकपुर सीता के जनकपुर’, बागमती प्रदेशबाट घ्याङताङ्ग निस्से नाच र फकन्दली नृत्य (नेवारी भाषा), गण्डकी प्रदेशबाट झाम्रे, लुम्बिनी प्रदेशबाट डिग्रे पैसरी र लस्के नृत्य, कर्णाली प्रदेशबाट टप्पा गीत, झ्याउरे नृत्य, सुदूरपश्चिम प्रदेशबाट डेउडा र छलीया नृत्य प्रस्तुत गरिने छ ।

जेठ ३० गते शुक्रबार दिनको १ः३० बजे नेपाल पुलिस क्लव, भृकुटीमण्डपमा हुने उक्त उत्सवको समुद्धाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गर्नेछन् ।