काठमाडौं । तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनकारीले घरमा आगजनी गरेका छन् ।प्रदर्शनकारीहरुले व्यक्तिको घर नै आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको छ।
निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारी र प्रहरीबीच भडप भएपछि राजवादीहरूले व्यक्तिका घर तोडफोड गर्नुका साथै आगजनी गरेका हुन्।
तीनकुने क्षेत्र अहिले तनावग्रस्त बनेको छ । हिंस्रक प्रदर्शन रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको प्रदर्शन भने शान्तिपूर्ण तरिकाले चलिरहेको छ ।
आगो निभाउन प्रयोग भएका दमकलहरुमाथि नै प्रहार गर्न र अवरोध गरेपछि सुरक्षा संयन्त्रपनि एग्रेसिभ भएको छ । अहिले प्रहरीले हवाई फायर गरेको छ ।
राजावादीहरूले काठमाडौंको पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी गरेको छ । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन ।
प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको थियो ।
प्रदर्शनकारीले तीनकुनेबाट सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् ।