काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
शक्ति र पद हुँदैमा जोकोही पनि कानुन र जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने अख्तियारले आम नागरिकमा विश्वास जागृत गराउन सक्नुपर्ने पनि राष्ट्रपति पौडेलले बताए ।
राष्ट्रपति पौडेलले भने, ‘भ्रष्टाचारको प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ त्यस अनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ । कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले आयोगले भ्रष्टाचारका सम्भावित जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अगाडि भूमिका निर्वाह गर्न कुनै कसर बाकी राख्ने छैन भन्ने मलाई विश्वास छ ।’
उनले ठुला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसङ्गति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको र त्यसमा राज्य पक्ष र अख्तियार गम्भीर बन्नुपर्ने बताए ।