काठमा। गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको दाबी गरेका हुन् ।
प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताउदै उनले भने, ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन ।’
२०८४ सम्म यो गठबन्धन कायम रहने दाबी गर्दै अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधननमन्त्री बन्ने उनले बताए ।
प्रधानमन्त्रीले गर्ने चीन भ्रमणका विषयमा दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चाररकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई ठूलो बनाएर बेकारको हल्ला चलाएको जवाफ दिए । उनले भने, ‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौँ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ ।’
नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे । उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमणलगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’