काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीका लगाइदिने भएका छन् । शनिबार दिउँसो ३:३० देखि साँझ बजेसम्म राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम रहेको छ ।
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छन् ।
सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपति पौडेलले बडा दशैं २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने भएका छन् । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दशैंको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने भएका हुन् ।
यस्तै राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्ने बताइएको छ ।
राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नेछन् ।