नयाँदिल्ली । विश्व स्वास्थ्य सङठनको कार्यक्रममा सहभागी हुन भारतको राजधानी नयाँ दिल्लीमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारतीय समकक्षी स्वास्थ्य तथा परिवारकल्याण मन्त्री जेपी नड्डाबीच द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।
भेटका क्रममा भारतीय पक्षवाट तनहुँको जीपी कोइराला स्वासप्रस्वास केन्द्रलाई तीन सय शैय्या र उपकरणसहित अस्पताल निर्माण शुरुवात गर्न केही समयमा सम्झौता गर्ने जानकारी आएको पौडेलको सचिवालयले जनाएको छ ।
त्यसक्रममा ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नका लागि आवश्यक सहयोगमा पनि सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाएको बताइएको छ ।
यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयन र एम्बुलेन्स सहायता अभिवृद्धिका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा भारतीय पक्षबाट सहयोग प्रतिबद्धता प्राप्त भएको हो ।