काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा चलेको दशवर्षे जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएको बताए ।
आजदेखि प्रसारण हुनलागेको जनयुद्धका घटनामा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उनीहरूले लाखौँ जनता सहभागी भएको जनयुद्धको आवश्यकता र महत्त्व युगौँसम्म चर्चा भइरहने बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नभएकाले यो ऐतिहासिक परिघटना भएको बताए ।
उनले भने, “पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौँलाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छभने त्यो माओवादी जनयुद्ध नै हो । लाखौँ जनताले यसमा भागमात्र लिएनन्, वर्षौँदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको छ ।”
कतिपय शक्तिहरूले लाखौँ जनताको सहभागितामा भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्नेगरी बहस गर्न खोजिएकोप्रति अध्यक्ष दाहालले असहमति जनाए । उनले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताए ।
उनले भने, “कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौँ भनेको पनि सुन्छु । हामी मूलधारमा आयौँ कि हामीले मूलधार सिर्जना गर्यौँ ? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौँ । अन्य दलहरू हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आउनुभएको हो ।”
उनले इतिहासको यथार्थ चित्रणमा सबैले जोड दिनुपर्ने उल्लेख गर्दै टेलिफिल्म ‘राधाकृष्ण’ले तत्कालीन सत्ता र विद्रोहीमध्ये कुनै एक पक्षमा नढल्केर इतिहासप्रति न्याय गर्ने र लाखौँ जनताले परिवर्तनका लागि गरेको बलिदानीको गाथालाई नयाँ पुस्तासम्म जस्ताका तस्तै पुर्याउने विश्वास व्यक्त गरे ।
यस्तै, नेसपाका अध्यक्ष डा भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताको सबैभन्दा ठूलो परिघटना भएको बताए । “सुगौली सन्धिअघिको राज्य विस्तारका क्रममा टिस्टाबाट काँगडासम्म महिला बालबालिकालगायत सबै नेपालीले आन्दोलनमा भाग लिएका थिए, त्यसयता लाखौँ जनता कुनै अभियानमा सहभागी भएका थिए भने त्यो जनयुद्ध नै हो । यो यस्तो परिघटना हो, जहाँ देशैभरि सबै तह र तप्काका जनताले भाग लिए”, उनले भने ।
जनयुद्धकै कारण आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै डा भट्टराईले जनयुद्धका क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्याङ्कन नहुने बताए ।
डा भट्टराईले भने, “बच्चा जन्मँदा सालनालसहित जन्मन्छ, पखालेर सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुसीयाली हो । माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुसी नै जनयुद्धको मूल पक्ष हो ।”