April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

स्वास्थ्य अवस्थाले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक राख्दिनँ : प्रधानमन्त्री ओली

985

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य अवस्थाले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आज सचिवालय बैठक पनि बालुवाटारमा नबस्ने जनाएका हुन् ।

उनले मनोहरा खोलामा आएको बाढीले च्यासलस्थित एमाले पार्टी कार्यालय डुबानमा परेकाले आजको बैठक अन्यत्र राखिएको जानकारी दिएका छन् । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक बसेरा बुटिक होटेलमा बस्दै छ ।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’

Advertisement

प्रधानमन्त्रीहरूले पार्टीको बैठक र कार्यक्रम सरकारी निवास बालुवाटारमा राख्ने गरेपछि आलोचना हुँदै आएको थियो । त्यही आलोचनाका बीच यसअघिका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको बैठक बालुवाटारमा राख्न छाडेका थिए ।