April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

850

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  पाँचौं पटक संसद्बाट विश्वासको मत लिँदै छन् । उनले  सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौ पटक विश्वासको मत लिन लागेका हुन् ।

यसबीचमा एमालेसँग दुई र कांग्रेससँग एक पटक गरेर तीन पटक गठबन्धन बदलेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमति भएपश्चात् विश्वासको मत लिन लागेका हुन् ।

यसअघि कांग्रेस र एमालेको समर्थनमा पालैपालो चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल प्रचण्ड यस पटक भने असफल हुने करिब निश्चित छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेकाले दाहाल प्रधानमन्त्रीबाट पदमुक्त हुने निश्चितजस्तै भएको हो । विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम नै उनी पदमुक्त हुनेछन् । त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

Advertisement

संविधानको धारा १०० (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम दाहालले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।